काठमाडौ, भाद्र २२ - सुटुक्क चीन गएर फर्किएको दोस्रो दिन
गत सोमबार एकबिहानै चावहिल मैजुबहालस्थित डेरा पुग्दा नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द (विप्लव) का सहयोगी घरको सरसफाइ गर्दै थिए । विप्लवको प्रतीक्षामा आगुन्तक कक्षमा बसिरहँदा पंक्तिकारलाई एक सहयोगीले निर्देशनात्मक शैलीमा आग्रह गरे, 'चीन भ्रमणबारे चाहिँ प्रश्न नसोध्नुस् है ।' अनौठो आग्रहको प्रतिकार गर्दै पंक्तिकारले भन्यो- 'के सोध्ने र के नसोध्ने, त्यो तपाई मलाई नै छोडिदिनुस् । बरु प्रतीक्षा गर्दै गरेको खबर अलि छिटो पुर्याइदिनु होला ।'
विप्लवको आगन्तुक कक्षमा कार्लमाक्र्स, लेनिन, स्टालिनदेखि चेग्वेभारासम्मका तस्वीर झुन्डिएका छन् । जुन प्रायशः कम्युनिष्ट नेताका घर अथवा कार्यालयमा हुन्छन् । तिनै फोटाहरूतिर आँखा डुलाइरहँदा चेग्वेभाराकै प्रिन्ट भएको टिसर्ट लगाएका विप्लव भित्रिए । उनले पनि त्यही आग्रह गरे, 'चीन भ्रमणबारे नबोलौं ।'
गत साता विप्लव अचानक चीन भ्रमण गएपछि किन गए भन्ने प्रश्नमा सबैको चासो थियो । दस दिनको भ्रमण भनिए पनि तीन दिनमै फर्किएका उनले त्यहाँ कसलाई भेटे र के कुरा गरे ? न विप्लवले मुख खोलेका छन्, नत भ्रमणबारे थाहा नभएको बताउने माओवादीका नेताहरूले नै केही बोलेका छन् । यो पृष्ठभूमिमा एउटा सञ्चारकर्मीले चीन भ्रमणको जिज्ञासा नराख्ने हुनै सक्दैन । पंक्तिकारले बारम्बार चीन भ्रमणमै चासो राखेर प्रश्न गरेपछि विप्लवले सुरुमा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्न गएको भनेर टार्न खोजे र पछि राजनीतिक भेटघाट भने । 'विश्वमा समाजवादी व्यवस्थाले बेला-बेला किन धक्का खायो, वैज्ञानिक समाजवाद कसरी लागु गर्न सकिन्छ जस्ता विषयमा अन्तरक्रिया गर्न गएको थिएँ', उनले भने- 'राजनीतिक भेटघाट थियो ।'
त्यसो हो भने किन भ्रमणलाई गोप्य राख्न खोजियो र उनकै पार्टीका नेताले समेत जानकारी नभएको बताए ? 'एउटा पार्टीको सचिव बिहान जुरुक्क उठेर झोला बोकेर त्यत्तिकै चीन गयो भनेर कसले पत्याउँछ', हाँस्दै उनी भन्छन्- 'यतातिर म बढी जान चाहन्न ।'
'जनयुद्ध'कालीन दिनमा विप्लवलाई पार्टी क्याडरले चिने पनि उनी राष्ट्रिय रूपमा परिचित थिएनन् । प्रचण्ड-बाबुरामकै चर्चा हुन्थ्यो, तिनताका । विप्लव लगायत समकक्षी नेता त्यतिखेर चिनिए, जतिखेर भूमिगत राजनीति छोडेर माओवादी शान्ति प्रक्रिया हुँदै संविधानसभामा आयो । शान्ति प्रक्रियासँगै सुरु भएको अन्तरविरोध चुलिँदै फुटकै तहसम्म पुग्यो र मोहन वैद्य 'किरण'को नेतृत्वमा नेकपा-माओवादी जन्मियो । यी सबै प्रक्रियाले विप्लवलाई पनि जन्मायो, एउटा कट्टरपन्थी युवा नेताका रूपमा । संविधानसभा-१ को अवधिभरि जनविद्रोहको कुरा गरेर किरणको 'हार्डलाइनर' छवि बन्यो । अहिले किरणभन्दा पनि 'हार्डलाइनर' देखिएका छन्, विप्लव ।
विप्लव रोल्पाका उत्पादन हुन् । रोल्पाको इरिवाङमा २०२४ सालमा जन्मेका उनको परिवारका अधिकांश पुरुष सदस्य 'लाहुरे' थिए । सानैदेखि उनी विभिन्न लडाइँका अनुभव सुन्थे र सुन्न रुचि पनि राख्थे । उनी आफै त 'लाहुरे' भएर लडेनन् र मुलुक भित्रैको आन्तरिक युद्धमा चाहिँ होमिए । 'जनयुद्ध'का बेला सेना-प्रहरीसँग भएका थुप्रै भिडन्तमा उनले राजनीतिक कमिसारको रूपमा नेतृत्व गरेका थिए ।
उनको राजनीतिक रुचि स्कुले जीवनबाटै प्रारम्भ भयो । उनी २०३९/०४० सालताका नै मोहन वैद्य नेतृत्वको नेकपा मशालको विद्यार्थी संगठनमा आबद्ध भए । उनले प्रावि शिक्षा इरिवाङमै पुरा गरे । त्यसपछि पढ्न सदरमुकाम आएका उनले २०४३ सालमा लिवाङको बालकल्याण माविबाट एसएलसी पास गरे । २०४४ सालमा काठमाडौं पढ्न आए । नेपाल ल क्याम्पस भर्ना भए । विद्यार्थी राजनीतिमा पनि उनको संलग्नता रहिरहेकै थियो । २०४८ सालमा स्नातक तह तेस्रो वर्ष पढ्दै विद्यार्थीको केन्द्रीय समितिमा पुगेपछि उनी पूर्णरूपमै राजनीतिमा होमिए । उनी २०५२ सालमा जनयुद्ध सुरु नहुँदासम्म पार्टीको ललितपुर सचिव थिए । २०५४ मा नेकपा-माओवादीको विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य चुनिए । २०५९ सालमा पोलिटव्युरो सदस्य नै भए । र अहिले विभाजनपछि नेकपा-माओवादीका सचिव भएका छन् ।
साढे दुई दशकदेखि राजनीतिक रूपमा क्रियाशील हुँदा विप्लवले कुनै बखत 'जनसत्ता' त चलाए, तर शान्ति प्रक्रियापछि पार्टी पटक-पटक सरकारमा जाँदा त्यसबाट बञ्चित भए । 'असन्तुष्टिको स्रोत त्यही थियो', एक विश्लेषक भन्छन्- 'समकक्षीहरू अनन्त, प्रभाकर आदिलाई महत्त्वपूर्ण मन्त्रालय दिइनु र विप्लवलाई आइसोलेसनमा राख्नुले असन्तुष्टि झनै बढाइदियो ।' पालुङटार बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले उक्त कुरा स्वीकार्दै विप्लवजस्ता युवा नेताहरूलाई सरकारमा लैजानुपर्ने कुरा गरेका थिए । तर अब विप्लवको महत्त्वाकांक्षा चुलिएको छ । माओवादी स्रोत त केसम्म भन्छ भने अहिले प्रचण्ड विप्लवलाई महासचिव बनाएरै भए पनि पार्टी एकता गर्नुपर्ने कुरा गरिरहेका छन् । के त्यसै हो त ? विप्लव हाँस्दै भन्छन्- 'के-को महासचिव मात्रै, अध्यक्ष पनि होइन्छ नि । त्यो ठूलो कुरा होइन ।'
विप्लवले ठट्यौली शैलीमा जवाफ दिए पनि अहिले एमाओवादी र माओवादीबीच एकता अथवा कार्यगत एकताका भित्रभित्रै प्रयास भइरहेका छन् । पार्टी विभाजन लगत्तै गद्दारको पगरी भिराएका विप्लव यतिबेला प्रचण्ड-बाबुरामप्रति तुलनात्मक नरम देखिनुले सायद त्यस्तै इंगित गर्छ । भन्छन्, 'राजनीतिक रूपान्तरणको प्रक्रियामा कांग्रेसले यथास्थितिवादी सोच राखिदिनाले समस्या भएको हो । प्रचण्ड-बाबुरामहरूले त्यसलाई काउन्टर गर्न नसकेका मात्रै हुन् ।' कार्यकर्ता तहमा पार्टी फुटको असर हालसम्म पनि नपरेको दाबी गर्दै उनी थप्छन्- 'तल्लो तहमा फुट छैन । जसले राम्रो गर्छ, त्यसैलाई साथ दिन्छन् ।' त्यसकारण पनि विप्लवलाई लाग्छ, कम्युनिष्टहरूबीच एकता हुनसक्छ, समस्या लोकतन्त्रवादी र कम्युनिष्ट बीचको द्वन्द्वको हो । 'जसरी हिजो राजनीतिक सहमति गरेर माओवादीलाई ८३ सिट दिएर अन्तरिम संसदमा लगियो', भन्छन्- 'अहिले पनि संविधानसभा होइन, संविधानका अन्तरवस्तुमा कम्युनिष्ट र लोकतन्त्रवादीबीच राजनीतिक सहमति आवश्यक छ । हिजैको राज्य संरचना र मान्यता सहितको व्यवस्थामा हामी जाँदैनौं र कांग्रेस पुरानै संसदीय व्यवस्था चाहन्छ । त्यसकारण दुई ध्रुवबीच राजनीतिक सहमति अहिलेको चुरो कुरा हो ।'
विप्लवको असहमति जारी सम्पूर्ण प्रक्रियासँग छ । उनको पार्टीका अरु कतिपय नेताले निर्वाचनमा जान सकिने धारणा राखे पनि उनी संविधानसभा-२ को औचित्य देख्दैनन् । 'हामीले सक्कली संविधानसभाको चुनाव गरिसक्यौं । संविधानसभाले विगतका सहमतिलाई कानुनमा बदल्न नसकेपछि अब पुनः संविधानसभाकै चुनाव गर्नुको अर्थ छैन', उनी भन्छन्- 'संविधानसभाको चुनाव भयो भने यसले प्रतिक्रान्ति ल्याउँछ । क्रान्तिकारी उपलब्धि धराशायी हुने र पश्चगामी उपलब्धि संस्थागत हुने अवस्था आउँछ । हिजो सहमति हुँदा त संविधान बनेन भने अहिले सहमति उल्लंघन भएको, सम्झौताहरू भाँडिएको अवस्था छ । त्यसकारण संविधानसभाले मुलुकलाई स्थायित्वतिर लैजाँदैन ।'
विप्लवको भाषामा विद्रोह छ, विगतकै धङधङी छ । चीनबाट फर्केपछि उनी थप आक्रामक देखिएका छन् । बिहीबार उनले विराटनगरमा बोले, 'हामीसँग अझै थुप्रै हतियार छन् । बहिस्कारका बेला ती हतियार पडकन्छन् ।' हतियारको दम्भ प्रदर्शन गरेर उनी संविधानसभामात्रै विफल गर्न चाहँदैनन्, 'क्रान्ति' गर्ने महत्त्वाकांक्षा पनि पाल्छन् । उनलाई लाग्छ, यहाँ अझै जनविद्रोहको 'ग्राउन्ड' छ । 'हाम्रो मुलुकमा कम्युनिष्ट प्रभाव छ । यहाँ विदेशी अतिक्रमण र थिचोमिचो छ । जनतामा परिवर्तनको आकांक्षा अझै जीवितै छ', उनी भन्छन्- 'हिजो क्रान्तिको सपना देखाएर दस वर्ष लडिए पनि त्यो परिवर्तनको आकांक्षा पुरा गरेको छैन । त्यो सपना पुरा गर्नुछ ।' उनी पछौटे सामाजिक संरचना बदल्ने, राज्यलाई समृद्धशाली बनाउने, धनी र गरिबको खाडल पुर्ने, युवालाई फरक आकांक्षा जगाउने आदि सुन्दा मीठा लाग्ने सपनाका कुरा गर्छन् । राजनीतिक महत्त्वाकांक्षा पुरा गर्न कतै उनी पनि सपना बेचिरहेका त छैनन् ?
No comments:
Post a Comment