काठमाडौं, आश्विन ४ - विवादास्पद छवि भएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन एमाओवादीले सहमति दिएको छ ।
बाबुराम भट्टराई सरकारले एमाओवादी कोटामा नियुक्त गरेकी राजदूत शर्माको कार्यले नेपालको बेइज्यत भएको भन्दै नेपाली समूदायले फिर्ताको दबाब दिंदै आएका थिए । अझ नेपालका लागि कतारी राजदूत अहमद जासेम अल हमरले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग 'दुई देशको सम्बन्धमा असर पर्न नदिन' लिखित आग्रह गरेपछि सरकार र एमाओवादी नेतृत्व दबाबमा परेको थियो ।
एमाओवादी केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले शर्मालाई फिर्ता बोलाउन सरकारलाई लिखित सहमति दिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दाहालले शुक्रबार नै शर्मालाई फोन गरि राजीनामा दिन दबाब दिएका छन् । एमाओवादीको निर्णयसँगै शर्माको बर्खास्तगी निश्चितप्रायः भएको छ ।
शर्मा राजदूत नियुक्ति भएदेखि नै कतारस्थित नेपाली राजदूत श्रमिकमैत्री नभएको भन्दै विरोध भएको थियो । उनले समस्यामा परेका नेपालीलाई राख्ने आवासगृह बन्द गरेकी थिइन् ।
राजदूत शर्माले बीबीसी साझा सवाल टेलिभिजन कार्यक्रममा कतार खुला जेल हो भन्ने अभिव्यक्ति दिएपछि उनको कुटनीतिक क्षमतामा प्रश्न उठाइएको थियो । लगत्तै आफूविरुद्ध लेख्ने पत्रकारलाई कतारबाट निकाला गर्न त्यहाँको सरकारलाई पत्र लेखेकी थिइन् ।
चितवनस्थित कृषि विकास बैंककी शाखा अधिकृत शर्मालाई एमाओवादीले राजदूत बनाएर पठाएको थियो ।
No comments:
Post a Comment