भाद्र २५ - राष्ट्रपति डा रामवरण यादवले सवै दलहरुलाई सहमतिमा लिएर निर्वाचनमा जान उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
समितिमा आवद्ध दलका शीर्षनेतासँग मंगलबार शीतलनिवासमा सम्पन्न भेटघाटमा राष्ट्रपति यादवले निर्वाचनमा सवै दलको सहभागिता आवश्यक भएकोमा जोड दिँदै निर्वाचन नै राजनीतिक सङ्क्रमणको अन्त्यको माध्यम भएको बताए ।
भेटपछि समितिका संयोजक एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सो जानकारी दिँदै भने, “राष्ट्रपतिले निर्वाचनमा सवै दलको सहभागिता आवश्यक रहेकोले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो ।”
नेकपा–माओवादीलगायत अन्य दललाई निर्वाचनमा सहभागिताका लागि भइरहेको संवाद, निर्वाचन तयारीलगायतका विषयमा समितिमा आवद्ध दलहरुका शीर्ष नेताले राष्ट्रपतिलाई जानकारी गराउँदै वर्तमान सरकारको परिवर्तन र निर्वाचन मिति सार्नेबाहेक सवै विकल्पमा छलफल गर्न समिति तयार रहेको बताएका थिए ।
संयोजक कोइरालाले नेकपा–माओवादीलगायत अन्य दललाई निर्वाचनमा सहभागी गराउन समितिले पटक पटक वार्ता गरेको र उनीहहरुका माग पूरा गर्न समिति तयार समेत भएको सञ्चारकर्मीहरुलाई बताए ।
उनले भने, “निर्वाचनको मिति सार्ने र वर्तमान सरकार विघटन गर्नेबाहेकका विषयमा समिति नेकपा–माओवादीका माग पूरा गर्न तयार छ ।”
नेकपा–माओवादीसहितको मोर्चाले समितिमा आवद्ध दलहरुले नै निर्वाचनको वातावरण नबनाएको भन्दै वातावरणका लागि पहल गरिदिन केही दिन अगाडि राष्ट्रपति यादवलाई भेट गरी ध्यानाकर्षण गराएका थिए ।
अगामी मङ्सिर ४ गतेको संविधानसभाको निर्वाचनको लागि समितिमा आवद्ध दलहरुले धमाधम उम्मेदवार छनौट, घोषणापत्र तयारीलगायत निर्वाचनका लागि आवश्यक आन्तरिक कार्य द्रुतरुपमा गरिराखेका छन् । अर्को तर्फ निर्वाचन आयोगले निर्वाचनको आवश्यक तयारी भईरहेको जनाएको छ । निर्वाचनका लागि अगामी असोज १ गतेदेखि निर्वाचन कार्यालय स्थापना हुँदैछन् ।
राष्ट्रपति यादवलाई समितिका शीर्ष नेताहरुले नेकपा–माओवादीलगायत अन्य दलले निर्वाचनले आउने सुनिश्चिता गरे बाधा अडकाउ फुकाउसम्बन्धी अध्यादेशलाई परिमार्जन गर्न समितिले सहयोग गर्ने जानकारी समेत गराएका थिए ।
भेटमा समितिका संयोजक कोइराला, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल, मधेसी जनअधिकार फोरमका (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम नेपालका भरतविमल यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतका नेता सहभागी हुनुभएको थियो । रासस
No comments:
Post a Comment