सिलिगुडी (भारत), भाद्र २६ - केन्द्रीय गृहमन्त्री सुशीलकुमार सिन्देको आश्वासन पाएका दार्जिलिङका आन्दोलनरत दलले तत्काल गोर्खाल्यान्ड आन्दोलन नचर्काउने मनस्थिति बनाएका छन् । उनीहरूले आन्दोलनका सबै कार्यक्रम टुंग्याउने सहमति गरेका छन् ।
सिन्देले साताअघि दार्जिलिङका पूर्वसांसद् र विधायकको टोलीलाई हडताल छाडेर आए त्रिपक्षीय वार्ताबाट समस्या समाधान गर्ने आश्वासन दिएका थिए ।
सिन्देको आश्वासनपछि दलहरू तत्काल आन्दोलन नगर्ने मनस्थितिमा पुगेका हुन् ।
गोर्खाल्यान्ड आन्दोलन हाँक्नकै लागि भनेर गठन गरिएको गोर्खाल्यान्ड जोइन्ट एक्सन कमिटीको मंगलबारको बैठकले (११ सेप्टेम्बर) बुधबारदेखि २० अक्टोवरसम्मका लागि बन्द, हडताल नगर्ने निर्णय गर्यो ।
यसअघिको बैठकले सोमबार र मंगलबार दुई दिन बन्द नगर्ने जनाएको थियो । आगामी २० अक्टोवरको बैठकले आन्दोलन गर्ने या नगर्ने विषयमा निर्णय गर्ने छ । 'तत्काल हडताललगायत सबै विरोध कार्यक्रम स्थगित गर्ने निर्णय भएको छ,' मोर्चा प्रवक्ता हर्कबहादुर क्षेत्रीले भने ।
बैठकले जोइन्ट एक्सन कमिटी नेतृत्वसमेत फेरबदल गरेको छ । कमिटी नेतृत्व अब मोर्चा अध्यक्ष विमल गुरुङ आफैंले गर्ने छन् । जसको सचिवमा क्रान्तिकारी माक्र्सवादी कम्युनिस्ट पार्टीक महासचिव आरवी राई रहने छन् । अघिल्ला अध्यक्ष डा. एनोसदास प्रधानलाई प्रमुख सल्लाहकार बनाएको छ । बैठकले त्रिपक्षीय वार्ताका लागि चाँडो पहल गर्न केन्द्र सरकारलाई आह्वान गर्ने जनाएको छ । हडतालको स्थगनसँगै करिब डेढ महिनादेखि अस्तव्यस्त शैक्षिक संस्था शुक्रबारदेखि सुचारु हुुनेछन् ।
यता, हडताल स्थगित गर्ने दलहरूको निर्णयप्रति सर्वसाधारणले भने तीव्र आलोचना गरेका छन् । अबको आन्दोलन निणर्ायक हुने आश्वासन दिएर मोर्चालगायत दलहरूले जनताको आँखामा छारो हालेको उनीहरूको आरोप छ ।
'यसरी आधा बाटैमा आन्दोलन टुंग्याउनु थियो भने नथालेकै भए हुन्थ्यो,' दार्जिलिङ नजिक पोख्रेवुङकी शिक्षिका सिर्जना सुब्बाले भनिन्, 'जनतालाई झूटो आश्वासन किन दिनु ?' आन्द्र प्रदेशलाई विभाजन गरेर लगत तेलङ्गाना राज्य बनाउने प्रक्रिया सुरु भएपछि पश्चिम बंगालको पहाडी जिल्ला दार्जिलिङमा अक्टोवर अन्तिम सातादेखि गोर्खाल्यान्ड आन्दोलन चर्किएको थियो । तर करिब डेढ महिना लामो आन्दोलनले कुनै उपलब्धि हासिल गर्न सकेन ।
राजनीतिक विश्लेषक विमल राईले आन्दोलनबारे संक्षिप्त प्रतिक्रिया दिए, 'हात्ती आयो, हात्ती आयो फुस्स ।' आन्दोलनरत दलहरूले केन्द्र सरकारको फोस्रो आश्वासनबाहेक केही उपलब्धि हासिल नगर्दा यति बेला गोर्खाल्यान्ड समर्थक आक्रोसित छन् ।
विमललाई गिरफ्तार गर्न माग पश्चिम बंगालको गोर्खाल्यान्डविरोधी संगठन बंगाल भाषा बचाउ अभियानलगायत जातीय संगठनले गोर्खाल्यान्ड आन्दोलनका कमान्डर विमल गुरुङलाई समेत गिरफ्तार गर्न माग गरेको छ । बंगला भाषा बचाउ अभियान र आमरा बंगाली नामक जातीय संगठनले मंगलबार गुरुङ गिरफ्तारीको माग गर्दै सिलिगुडी बन्द आह्वान गरेको थियो ।
No comments:
Post a Comment