Sunday, 25 August 2013

बाह्र छोरा तेर नाती

काठमाडौ, भाद्र ८ - चितवनको अयोध्यापुरी बाँदरझुलाका तीनाराम चेपाङ असी वर्षका भए । ठूलो हावाहुरी आउँदा ढल्ला कि भन्ने खालको झुपडीमा उनी आफ्नी वृद्ध श्रीमती शुकमायासँग बस्छन् । वर्षभरि खान पनि गाउलेको मुख ताक्नुपर्ने अवस्था छ । बाँदरझुलामा १५ घरधुरी चेपाङहरूको बसोबास छ । सरकारबाट केहीअघि १४ परिवारलाई घर बनाउने रकम आयो तर तिनारामले त्यो रकम पाएनन् । उनकै उमेर पुगेका अरू सबै नेपालीलाई सरकारले वृद्धभत्ता दिन्छ । तर तिनारामका बूढाबूढीले त्यो पनि पाउँदैनन् । तिनारामसँग नागरिकता छैन ।  
केही पहिले उनले नागरिकता बनाएका थिए । तर २०६१ सालमा बाँदरझुलामा लागेको आगलागीमा त्यो खरानी भयो । त्यसपछि उनले नागरिकता बनाउन सकेका छैनन् । केही अघि गाउँमा नागरिकता बनाउने टोली त आयो । तर तिनले नागरिकताको प्रतिलिपिबिना फेरि नागरिकता बनाउन मिल्दैन भने । उनलाई एकपल्ट गाउँलेले बोकेर जिल्ला सदरमुकाम पनि पुर्‍याए । तर फेरि नागरिकता बनेन ।
स्थानीय राजकुमार चेपाङ भन्छन्, 'राज्यले नागरिकता सहज तरिकाले नदिँदा उनी वृद्ध भत्ताबाट वञ्चित छन् ।' नागरिकता टोली आउँदा गाउँलेले टायरमा बोकेर लगेका थिए । तर नागरिकता टोली प्रमुखले जिल्ला आउनु अहिले हुन्न भनेर फर्काए । पछि सदरमुकाम गए पनि नागरिकता बनेन ।
१९९० सालको भूकम्पभन्दा ९ महिना जेठा तिनारामसँग जम्मा ६ कट्ठा जमिन छ । त्यति जमिनले के गर्ने ? त्यसमाथि उनी केही काम गर्न सक्दैनन् । 'सधैं अरूको सहारामा कतिसम्म बाँचिएला र ?' उनी भन्छन् ।  उनका सन्तान नभएका होइनन् । २ छोरी र १ छोरा छन् । दुइटै छोरी बिहे गरेर गए । छोराको पनि बिहे भयो तर छोरा-बुहारीको सम्बन्ध धेरै राम्रो भएन । त्यसपछि बुहारी बिदेसिइन्, डेढ वर्षदेखि छोरा पनि सम्पर्कमा छैनन् । तिनाराम भन्छन्, 'छोरालाई साह्रै भेट्न मन लाग्छ । छोराको मुख हेरेर मर्न पाए हुन्थ्यो । मेरो नागरिकता बनाउन सके नाति र छोरालाई सजिलो हुने थियो ।'
बाँदरझुला पुग्दा अनुभव हुन्छ, यहाँ त राज्यको उपस्थिति यति दयनीय छ भने अन्य दुर्गम क्षेत्रको स्थिति के होला ? नेपाल गाउँ नै गाउँको देशमात्र नभएर 'उपेक्षित गाउँ'हरूको पो देश हो कि जस्तो लाग्छ !

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try