आश्विन १८ - एमाले बारा- ४ बाट उम्मेदवारी दिएको भोलिपल्ट शुक्रबार बिहान नेता महमुद आलममाथि गोली प्रहार भएको छ । उनको अवस्था 'अन्यन्तै चिन्ताजनक' रहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताल भर्ना गरिएका आलमको मस्तिस्कमा रगत जमेको इमरजेन्सी विभाग प्रमुख डा. प्रतापनारायण प्रसादले जानकारी दिए । प्रसादका अनुसार आलमको टाउको धेरै छर्रा लागेको देखिएको छ ।
त्रिवि शिक्षण अस्पताल ल्याएलगत्तै आलमको सिटिस्क्यान र अपरेशन गरिएको छ । अपरेशनपछि आलमलाई आईसीयूमा राखिएको छ ।
आलममाथि शुक्रबार बिहान अज्ञात समूहले बाराको परवानीपुरस्थित चवासती मिल अगाडि गोली प्रहार भएको हो । मोटरसाइकलमा आएका दुईमध्ये एकले गोली हानेर भागेका थिए ।
बारा लिपनीमान- १ निवासी आलम एमाले केन्द्रीय सदस्य एवं पार्टी निकट मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष हुन् । चुनावी प्रचारका लागि कार्यकर्ता भेटघाटमा गएका बेला उनीमाथि आक्रमण भएको हो ।
तत्कालै उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज भर्ना गरिएका आलमलाई नेपाली सेनाको हेलिकोप्टरबाट शुक्रबार नै काठमाडौं ल्याइएको हो ।
एमाले नेताहरुद्वारा भेट
![]() |
बीरगञ्जस्थित अस्पताल परिसरमा जम्मा भएका सुभेच्छुकहरु माथि र काठमाडौं लैजानका लागि हेलिकप्टरमा राखिंदै तल |
आलमको स्वास्थ्यबारे एमाले शीर्ष नेताहरुले जानकारी लिएका छन् । एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, नेता केपी शर्मा ओली, उपाध्यक्षद्वय बामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेलले अस्पताल पुगेर आलमको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
भेटपछि एमाले बरिष्ठ नेता नेपालले आलमको स्थिति चिन्ताजनक रहेको बताए । 'उहाँको अवस्था अत्यन्त चिन्ताजनक छ,' नेपालले संवाददाताहरुसित भने, 'डाक्टरहरुले अथक प्रयास गरिरहनुभएको छ ।'
उम्मेदवारलाई विशेष सुरक्षाः गृहमन्त्री
गृहमन्त्री माधवप्रसाद घिमिरेले उम्मेदवारका लागि सरकारले विशेष सुरक्षा योजना ल्याउने जानकारी दिएका छन् ।
एमाले बारा- ४ का उम्मेदवार महमुद आलमको स्वास्थ्यबारे जानकारी लिन आएका गृहमन्त्री घिमिरेले सञ्चारकर्मीसँग कुरा गर्दै घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताए ।
गृहमन्त्रीले बाराको घटनापछि पनि निर्वाचन नबिथोलिने जानकारी दिए । उनले निर्वाचन बिथोल्ने शक्तिलाई सरकारले कडा कारबाही गर्ने बताए ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै रिपोर्ट नआउन्जेल बोल्न नमिल्ने बताए ।
नेता आलमको स्वास्थ्य अवस्थाबारे गृहसचिव जनार्दन नेपाल, महानगरीय प्रहरी आयुक्त नवराज ढकालले पनि जानकारी लिएका छन् ।
गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी
आक्रोसित एमाले मुस्लिम नेता कार्यकर्ताहरुले गृहमन्त्री माधवप्रसाद घिमिरेको राजीनामा माग गर्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरुले सरकारले आलमको स्वास्थ्य खर्च सरकारले नदिएको भन्दै आक्रोस व्यक्त गरेका छन् । आलमको उपचार खर्च अभाव भएको उनीहरुको भनाइ छ ।
विशेष प्रहरी टोली घटनास्थलमा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली शुक्रबार नै घटनास्थल गएको छ ।
यसैबीच निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै उम्मेदवारको सुरक्षा मिलाउन सरकारलाई आग्रह गरेको छ ।
साथमा, भूषण यादव, वीरगन्ज, पवन यादव र लक्ष्मि साह, बारा र काठमाडौंमा विजय तिमिल्सिना ।
तस्विर : भूषण यादव/ईकान्तिपुर
No comments:
Post a Comment