जोधपुर , भाद्र २० - भारतको राजस्थान राज्यको जोधपुर अदालतलले नाबालिग बलात्कारका आरोपी आशारामको जमानत याचिका खारेज गरेको छ । पीडित बालिग भएको आशाराम पक्षको वकिलको दाबीलाई पनि अदालतले अस्वीकारेको छ । अदालतसमक्ष प्रस्तुत गरिएको जन्मदर्ता प्रमाण पत्रबाट पीडित नाबालिग भएको पुष्टि भइसकेको छ ।
यस्तो गम्भीर मुद्दामा जमानत दिन नमिल्ने कानुनी प्रावधानको अदालतले पालना गरेको हो । आशारामका वकिलले भने यसविरुद्ध हाई कोर्टमा जाने बताएका
छन् । उनलाई यसअघि नै अदालतले १५ दिनसम्म न्यायिक हिरासतमा राख्ने आदेश दिइसकेको छ । उनी अहिले जोधपुर केन्द्रीय कारागारका अति विशिष्ट बन्दी बनेका छन् ।
यसअघि कपोकल्पित र भ्रामक बयान दिएर प्रहरी, सञ्चारमाध्यम र न्याय प्रणालीको आँखामा धुलो हाल्ने काम गरिसकेका आशारामलाई जमानत दिँदा मुद्दा प्रभावित हुन सक्ने अभियोजन पक्षको दाबी थियो । झन्डै दुई घन्टासम्म चलेको बहसमा हालसम्मको घटना क्रमलाई ध्यानमा राखेर अदालतले उनलाई छाड्न नहुने निर्णयमा पुगेको हो । सरकारी वकिल आनन्द पुरोहितले बडो मुस्किलले पक्राउ परेका आशारामलाई छाड्दा समाजमा गलत सन्देश प्रवाह र प्रहरी संगठन निरुत्साहित हुने बताएका थिए ।
कानुनी शासनको पालना नगर्ने मनसाय राखेका आशारामले प्रहरी नोटिसको खुलेआम अवहेलना गर्नुका साथै सोधपुछका लागि गएका टोलीलाई हैरान पारेका थिए । आश्रमका कर्मचारीको मिलेमतोमा सुनियोजित ढंगले नाबालिगको यौन शोषण भएको प्रहरीले जनाएको छ । त्रासका कारण पीडित पक्षलेे सुरुमा दिल्ली प्रहरीमा उजुरी दिएको सरकारी पक्षको तर्क थियो । पीडितले दिएको बयानमा क्रूर ढंगले बलात्कार भएको पुष्टि भइसकेको छ ।
यो घटनाका दुई आरोपी आशारामका आश्रमका वार्डेन शिल्पी र निजी सहायक प्रकाश फरार छन् । आश्रमको उपस्थिति रेकर्ड राख्ने शिवाले नाबालिगलाई आशारामको कुटीसम्म छाडेको स्वीकारिसकेका छन् । सत्य बोलेमा ज्यान मार्ने धम्की दिइएकोले आफू पनि लुकेर हिँडेको उनले बताए । उनी पनि प्रहरीबाट भागीभागी हिँडिरहेका थिए ।
यो मुद्दामा शक्तिशाली आशारामको पक्षबाट पीडित परिवार, अनुसन्धान अधिकृत र सञ्चारमाध्यमलाई धम्क्याउने एवं आर्थिक प्रलोभन दिने गतिविधि जारी छन् । बाबाको निकै पकड मानिएको भारतको उत्तरप्रदेशबाट गरिएको फ्याक्समा जोधपुरका उच्च प्रहरी अधिकृत अजय लाम्बालाई ज्यान मार्ने धम्की दिइएको छ ।
पक्राउ गर्नुअघि पनि प्रहरीसमक्ष घूसस्वरूप ठूलो रकम राखिएको जोधपुरका सहायक प्रहरी आयुक्त चञ्चल मिश्राले बताए । यसअघि पीडित परिवारलाई ज्यान मार्ने धम्की र प्रलोभन दिएको खुलासा भइसकेको छ । भारतको लोकपि्रय टीभी च्यानल 'आजतक'ले तीन वर्षअघि गरेको 'स्टिङ अपरेसन' मा आशारामको आश्रम अपराधीको आश्रयस्थल भएको र त्यहाँ यौन दुव्र्यहार हुने गरेको खुलासा भइसकेको छ । यसबारे उनलाई सोधपुछ गरिसकिएको छ
No comments:
Post a Comment