साफ च्याम्पियनसिपको समूह चरणअन्तर्गत 'बी' को आफ्नो अन्तिम खेलमा शुक्रबार माल्दिभ्स र अफगानिस्तान गोलरहित बराबरीमा रोकिएपछि नेपालको प्रतिद्वन्द्वी तय भएको हो । समान सात अंक रहे पनि गोल अन्तरका आधारमा माल्दिभ्स समूह विजेता र अफगानिस्तान उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन् । माल्दिभ्सले १८ गोल गर्दै दुई गोल खायो भने अफगानिस्तानले ६ गोल गर्दै एक गोल खाएको थियो ।
लगातार दुई खेलमा सफलता हासिल गर्दै दुवैले सेमिफाइनल यात्रा पक्का गरे पनि विजेताको टुंगो लगाउन अन्तिम खेल नै कुर्नुपरेको थियो । प्रतियोगिताको सेमिफाइनल समीकरण नयाँ दिल्लीमा भएको छैटौं संस्करण जस्तै बनेको छ । त्यसबेला पनि नेपाल र अफगानिस्तान तथा माल्दिभ्स र भारत फाइनल प्रवेशका लागि भिडेका थिए । तर अहिले परिवर्तन देखिएको छ । समूह उपविजेता रहेको नेपाल अहिले समूहविजेताका रूपमा छ । त्यस्तै अफगानिस्तान समूह उपविजेता बनेको छ ।
अघिल्लो संस्करणमा नेपालविरुद्ध पहिलो सफलता हासिल गर्ने क्रममा अफगानिस्तानले अतिरिक्त समयमा १-० को जित निकालेको थियो ।
प्रतियोगितामा पहिलोपटक दशरथ रंगशालामा खेलेको अफगानिस्तानविरुद्ध माल्दिभ्सले आफ्ना प्रमुख खेलाडीलाई विश्राम दिएको थियो । दुई खेलमा १० गोल गरेका अली अस्फक टिममा सामेल थिएनन् । एक पहेंलो कार्ड खाएका उनलाई मैदानमा उतार्ने जोखिम मोल्ने काम माल्दिभ्सले गरेन ।
दोस्रो हाफमा अफगानिस्तानले केही प्रहार गरे पनि सफल हुन सकेन । गुलाम महमुद्दिनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गतिलो प्रहार माल्दिभ्सका गोल रक्षक इमरान मोहम्मदले रोके ।
माल्दिभ्सका मोहम्मद उमरले ७१ औं मिनेटमा वान भर्सेस वानमा गरेको प्रहार बाहिरिएको थियो । खेल बराबरी भए पनि समूहविजेता बनेकामा माल्दिभ्सका प्रशिक्षक इस्तेभान वेलाले खुसी व्यक्त गरे । उनले अस्फकलाई नखेलाउने निर्णय गर्न आफूलाई गाह्रो भए पनि टिम हितका लागि गरेको बताए ।
'मैले खेलाडीसँग सल्लाह गरेर यो निर्णय लिएको हुँ,' उनले भने । उनले भारत सधैं गाह्रो प्रतिद्वन्द्वी हुने उनको टिप्पणी थियो । उनले सेमिफाइनलमा दुवै टिमको समान सम्भावना रहेको बताए । तर भारत नियमित कप्तान सुनील क्षेत्री बिना मैदानमा उत्रने छ । दुई पहेंलो कार्डका कारण उनले सेमिफाइनल गुमाउनेछन् । उनले एउटा रोमाञ्चक टिप्पणी गरे,'यसपल्ट पहिलेको जस्तो फाइनल पुग्ने टिम एउटै नहोस् ।'
अफगानी प्रशिक्षक युसेफ कारगरले सेमिफाइनलमा प्रतिद्वन्द्वीका रूपमा भारत चाहे पनि नेपाल परेको बताए । उनले माल्दिभ्सविरुद्ध पाएको मौकाको सदुपयोग गर्न नसकेको धारणा राखे ।
No comments:
Post a Comment