आश्विन ३ - मधेसी दलहरू उम्मेदवार छनोटमा व्यस्त भएका छन् । सबैजसो पार्टी जिल्लाबाट सिफारिस भई आएकामध्येबाट उम्मेदवार छानिरहेका हुन् । शीर्ष तहको भने टुंगो लागिसकेको छ ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङ-५, सुनसरी-५ र सप्तरी-२ मध्ये दुई वटाबाट चुनाव लड्ने केन्द्रीय सदस्य अर्जुन थापाले बताए । यादवको तीन वटा निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएको हो । यादवले भने यो पटक विगतमा जेपी गुप्ताले जितेको सप्तरी-२ बाट लड्न रुचि देखाएका छन् ।
फोरम कोषाध्यक्ष रेणु यादव सप्तरी-४, करिमा बेगम पर्सा-१ र मोहम्मद इस्तियाक राई बाँके-२ बाट बाटै चुनाव लड्नेछन् । विगतमा तमलपोबाट चुनाव लडेका रामचन्द्र राय यादव सर्लाही-४ र सद्भावनाबाट चुनाव जितेका महेशप्रसाद यादव सप्तरी-३ बाट लड्नेछन् । केही समय अघि उनीहरू फोरम नेपाल प्रवेश गरेका थिए ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उम्मेदवार छनोट गर्न अनौपचारिक छलफल सुरु गरेको छ । अध्यक्ष विजय गच्छदार यो पटकको चुनावमा पश्चिम तराईबाट उठ्ने तयारीमा छन् । उनी मोरङ-७, सुनसरी-३ मध्ये एउटा र बर्दिया-४ बाट चुनाव लड्दैछन् । वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव सर्लाही-५, उपाध्यक्ष दानबहादुर चौधरी कपिलवस्तु-२ र महासचिव जितेन्द्रनारायण देव सप्तरी-३ बाट चुनाव लड्नेछन् ।
उम्मेदवार चयन गर्न तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को संसदीय बोर्ड बैठक बिहीबार सुरु हुँदै छ । तमलोपामा शीर्ष नेताको चुनावी क्षेत्रको टुंगो लागिसकेको छ । अध्यक्ष महन्थ ठाकुर सर्लाही-६, उपाध्यक्ष वृषेशचन्द्र लाल धनुषा-४, उपाध्यक्ष हृदयेश त्रिपाठी नवलपरासी-६, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल रूपन्देही-६ र सहमहामन्त्री जितेन्द्र सोनार बारा-४ बाट उठ्नेछन् ।
सद्भावनाले मधेससहित पहाडी र हिमाली जिल्लाबाटसमेत उम्मेदवारी दिने तयारी गरेको छ । उसले यसै साता उम्मेदवारको टुंगो लगाउँदै छ । अध्यक्ष राजेन्द्र महतो सर्लाही-४, वरिष्ठ नेता बद्रीप्रसाद मण्डल मोरङ-५, उपाध्यक्ष सञ्जय साह धनुषा-४, उपाध्यक्ष ओमप्रकाश यादव रूपन्देही-६ र सचिव मिर्जा अरशद बेग कपिलवस्तु-५ बाट भिड्दै छन् ।
तराई मधेस सद्भावना पार्टी (तमसपा) महासचिव कौशलेन्द्र शर्माका अनुसार उम्मेदवारबारे आन्तरिक छलफल सुरु भएको छ । तमसपा अध्यक्ष महेन्द्रप्रसाद यादव सर्लाही-४, रामचन्द्र कुसवाहा पर्सा-३, उपाध्यक्ष अलाउद्दिन अन्सारी नवलपरासी-५ र उपाध्यक्ष खोभारी राय यादव सर्लाही-५ बाट चुनाव लड्नेछन् । तमसपाले सय वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनेछ ।
यस्तै, राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) को मंगलबार र बुधबार राजधानीमा बसेको राष्ट्रिय समिति बैठकले उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ । प्रवक्ता इजहारुल हक मिकरानीका अनुसार अध्यक्ष शरत्सिंह भण्डारी महोत्तरी-१ र ६, उपाध्यक्ष ओमप्रकाश यादव रूपन्देही-६, नेता प्रदीपशमशेर जबरा रौतहट-४, राष्ट्रिय समिति सदस्य जैनुल रायन महोत्तरी-२ र सचिव कौशल यादव महोत्तरी-५ बाट चुनाव लड्नेछन् ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अध्यक्ष राजकिशोर यादव सिरहा-६, वरिष्ठ नेता राजलाल यादव सिरहा-२, महासचिव शशिकपुर मियाँ पर्सा-२ बाट चुनाव लड्नेछन् । संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झा रौतहट-१ बाट चुनाव लड्नेछन् । उसले सय वटा चुनावी क्षेत्रमा उम्मेदवारी दिने बताएको छ ।
को कहाँबाट लड्दैछन् !
उम्मेदवार क्षेत्र
उपेन्द्र यादव मोरङ-५, सुनसरी-५ र सप्तरी-२
करिमा बेगम पर्सा-१
रेणु यादव सप्तरी-४
विजय गच्छदार मोरङ-७, सुनसरी-३, बर्दिया-४
रामेश्वर राय यादव सर्लाही-५
दानबहादुर चौधरी कपिलवस्तु-२
महन्थ ठाकुर सर्लाही-६
हृदयेश त्रिपाठी नवलपरासी-६
राजेन्द्र महतो सर्लाही-४
बद्रीप्रसाद मण्डल मोरङ-५
सञ्जय साह धनुषा-४
महेन्द्रप्रसाद यादव सर्लाही-४
रामचन्द्र कुसवाहा पर्सा-३
अलाउद्दिन अन्सारी नवलपरासी-५
खोभारी राय यादव सर्लाही-५
शिवपुजन राय यादव सर्लाही-६
शरत्सिंह भण्डारी महोत्तरी-१ र ६
ओमप्रकाश यादव रूपन्देही-६
प्रदीपशमशेर जबरा रौतहट-४
जैनुल रायन महोत्तरी-२
राजकिशोर यादव सिरहा-६
शशिकपुर मियाँ पर्सा-२
अनिल झा रौतहट-१
No comments:
Post a Comment