श्रीनगर (भारत), आश्विन १० - भारत अधिनस्थ कश्मीरमा बिहीबार भएको आतंकारी हमलामा सेनाको लेफ्टिनेन्ट कर्णेल सहित ८ जना मारिएका छन् । आतंकारीले दुईवटा सुरक्षा चौकीमा आक्रमण गरेको हो । पहिलो आक्रमण एक प्रहरी चौकीमाथि गरिएको थियो । कठुआ जिल्लाको हिरानगर प्रहरी चौकीमाथि गरिएको आक्रमणमा चार प्रहरी र दुई जना स्थानीय नागरिकको मृत्यु भएको छ ।
आतंकारीहरुले अर्को आक्रमण कठुवा जिल्लासँगै टाँसिएको सांवा जिल्लामा सेनाको एक चौकीमाथि आक्रमण गरे । त्यहाँ लेफ्टिनेन्ट कर्णेल र एक जवानको मृत्यु भएको बीबीसीले जनाएको छ । सेनाको कारवाहीमा दुई जना आतंकारी पनि मारिएका छन् । आतंककारीहरु सेनाको मेसमा प्रवेश गरेका थिए । आतंककारीहरु सेनाको पोशाक लगाएर आएको बताईएको छ ।
भारतीय र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटघाटको कार्यक्रम तय भएको एक दिन अगाडि यो आक्रमण भएको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जान लागेका भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी समकक्षी नवाज शरिफबीच भेटघाट तय भएको थियो ।
No comments:
Post a Comment