Friday 22 March 2013

तीन पूर्वआयुक्तको नियुक्ति प्रस्ट पार्न राष्ट्रपतिको आग्रह, अस्वीकार गरेको होइनः दाहाल

काठमाडौं, चैत्र ९ - राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषद्ले सिफारिस गरेका तीन पूर्व निर्वाचन आयुक्तबारे प्रस्ट पार्न पत्राचार गरेका छन् ।

संवैधानिक परिषद् अध्यक्ष खिलराज रेग्मीलाई शुक्रबार पत्र लेख्दै राष्ट्रपति कार्यालयले तीन पूर्व आयुक्तको सिफारिसबारे स्पष्ट पार्न भनेको छ । 'तीन पूर्व आयुक्तको नाममा अन्तरिम संविधानको धारा १ सय २८ को उपधारा ३ र ७ आकर्षित हुन्छ वा हुँदैन स्पष्ट पार्नु भनिएको छ,' राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने ।

अन्तरिम संविधानमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुनका लागि ग्राहृय नहुने उल्लेख छ । चार दलको उच्चस्तरीय राजनीतिक समितिको प्रस्तावमा संवैधानिक परिषद्ले दुई नयाँसहित पाँच जना पदाधिकारी नियुक्त गर्न बिहीबार राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

परिषद्ले सिफारिस गरेकामध्ये पूर्व कार्यवाहक निर्वाचन आयुक्त निलकण्ठ उप्रेती, आयुक्तहरु अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङ छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार दाहालले तीन आयुक्तलाई अस्वीकार वा फिर्ता गरेको नबुझ्न आग्रह गरे । 'यो प्रक्रियामा नै छ, अन्तरिम संविधान आकर्षित हुन्छ कि हुँदैनमात्र भनिएको हो,' उनले भने, 'फिर्ता वा अस्वीकार भएको होइन ।'

सिंहदरवारमा बिहीबार साँझ बसेको परिषद् बैठकले निर्वाचन आयोगमा एक प्रमुख आयुक्त र चार आयुक्तको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । तीमध्ये तीन पुरानासहित रामभक्त पीबी ठाकुर र इला शर्माको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्मा अन्तरिम चुनवी मन्त्रिपरिषद् रेग्मीसहित कार्यवाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा, सञ्चार मन्त्री पौडेल, गृहमन्त्री माधवप्रसाद घिमिरे, महिला बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधान सदस्य छन् । पाँच सदस्यीय परिषद्मा मुख्यसचिव लीलामणि पौड्याल सदस्य-सचिव छन् ।

राष्ट्रपतिको पत्रबारे बालुवाटारमा छलफल

तीन पूर्व निर्वाचन आयुक्तबारे प्रस्ट पार्न राष्ट्रपति रामवरण यादवले गरेको पत्राचारबारे अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उच्चस्तरीय राजनीतिक समितिका नेताहरुसँग शुक्रबार साँझ छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समितिका नेताहरु सहभागी थिए । छलफलमा रेग्मीसँगै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार र सञ्चार मन्त्री माधव पौडेल सहभागी थिए ।

मन्त्रिपरिषद् अध्यक्षका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले करिव ४५ मिनेट भएको छलफल समसामयिक विषयमा केन्द्रित रहेको बताए ।

No comments:

Post a Comment

Nijyumaru Japanese restaurant

Delicious Otoro( blifin fish belly )sashimi mori I have ever try